पोखरा,
जेष्ठ २९ ।
शिक्षा,
सीप, अनुशासन
र सकारात्मक सोचको समन्वयमार्फत गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ गण्डकी
बहुप्राविधिक शिक्षालय, पोखराले दुई
दिने अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले जेष्ठ २८
गते शिक्षक तथा कर्मचारीहरूका लागि र जेष्ठ २९ गते नवप्रवेशी तथा अध्ययनरत
विद्यार्थीहरूका लागि विशेष उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा चर्चित उत्प्रेरक प्रशिक्षक रमण भट्टराईले
शिक्षक, कर्मचारी तथा
विद्यार्थीहरूलाई जीवन, शिक्षा,
नेतृत्व, आत्मविश्वास,
लक्ष्य निर्धारण, समय
व्यवस्थापन र व्यक्तित्व विकासका विविध पक्षबारे प्रेरणादायी प्रशिक्षण प्रदान
गर्नुभयो। उहाँले सफलताको यात्रा कुनै संयोग नभई निरन्तर अभ्यास,
सही सोच, स्पष्ट
लक्ष्य र दृढ संकल्पको परिणाम हुने बताउँदै सहभागीहरूलाई आफ्नो क्षमतामाथि विश्वास
गर्न आग्रह गर्नुभयो । जेष्ठ २८ गते
आयोजित शिक्षक तथा कर्मचारी उत्प्रेरणा कार्यक्रममा शिक्षण पेशाको गरिमा,
शिक्षकको जिम्मेवारी,
विद्यार्थीको भविष्य निर्माणमा शिक्षकको भूमिका,
संस्थागत संस्कार तथा कार्यप्रति समर्पणका
विषयमा गहन छलफल गरिएको थियो । कार्यक्रममा सहभागी शिक्षकहरूले बदलिँदो शैक्षिक
परिवेशमा आफूलाई निरन्तर अद्यावधिक गर्दै विद्यार्थीमैत्री शिक्षण पद्धतिलाई
आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
त्यसैगरी,
जेष्ठ २९ गते सम्पन्न विद्यार्थी अभिमुखीकरण
कार्यक्रममा अध्ययनसँगै जीवन व्यवस्थापन, करियर
निर्माण, अनुशासन,
नैतिकता, आत्मसम्मान
र सकारात्मक दृष्टिकोणका विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा
सहभागी विद्यार्थीहरूलाई आफ्नो सपना पहिचान गर्दै त्यसलाई यथार्थमा रूपान्तरण गर्न
निरन्तर प्रयासरत रहन प्रेरित गरिएको थियो ।
कार्यक्रमलाई
सम्बोधन गर्दै गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक
डा. टेकनारायण पौडेलले शिक्षाको वास्तविक अर्थ
मानिसभित्र रहेको सम्भावनालाई उजागर गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो-
“कुनै पनि विद्यार्थी असफल भएर जन्मिएको हुँदैन ।
उसभित्र एउटा अदृश्य शक्ति, एउटा
सपना र एउटा उज्यालो भविष्य लुकेको हुन्छ । शिक्षण संस्थाको दायित्व त्यो
सम्भावनालाई चिन्ने, जगाउने र सही दिशामा
डोर्याउने हो ।
आजका यी विद्यार्थीहरू भोलिका इन्जिनियर, प्राविधिक,
उद्यमी, अनुसन्धानकर्ता
र समाजका मार्गदर्शक बन्नेछन् । त्यसैले उनीहरूको मनमा आशा,
आत्मविश्वास र जिम्मेवारीको दीप प्रज्वलित गर्नु
हाम्रो साझा कर्तव्य हो । उहाँले
शिक्षकहरूलाई सम्बोधन गर्दै ज्ञान हस्तान्तरणभन्दा ठूलो कार्य विद्यार्थीको जीवनमा
प्रेरणा रोप्नु भएको उल्लेख गर्नुभयो । “विद्यार्थीले वर्षौँपछि पढाइएका पाठहरू
बिर्सिन सक्छन तर शिक्षकले दिएको सम्मान, हौसला
र प्रेरणा जीवनभर सम्झिरहन्छ” भन्दै
उहाँले शिक्षकहरूलाई परिवर्तनका संवाहकका रूपमा आफ्नो भूमिकालाई अझ प्रभावकारी
बनाउन आग्रह गर्नुभयो ।
निर्देशक डा. पौडेलले गण्डकी बहुप्राविधिक शिक्षालयले प्राविधिक शिक्षालाई रोजगारी, उद्यमशीलता र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढिरहेको उल्लेख गर्दै दक्ष, सिर्जनशील र नैतिक जनशक्ति उत्पादन संस्थाको मूल लक्ष्य रहेको बताउनुभयो। उहाँले शिक्षा मानिसको भाग्य परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली माध्यम भएकाले विद्यार्थीहरूले आफ्नो समय, ऊर्जा र क्षमतालाई सही दिशामा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रशिक्षण अवधिभर अन्तरक्रियात्मक छलफल, प्रेरणादायी अनुभव आदानप्रदान तथा जीवन उपयोगी सन्देशहरू प्रस्तुत गरिएको थियो । सहभागीहरूले कार्यक्रमले आफ्नो सोचमा सकारात्मक परिवर्तन ल्याएको, लक्ष्यप्रति थप स्पष्टता दिएको र अध्ययन तथा पेशागत जीवनप्रति नयाँ ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिएका थिए । गण्डकी बहुप्राविधिक शिक्षालयले आगामी दिनहरूमा पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, व्यक्तित्व निर्माण र शैक्षिक उत्कृष्टतालाई केन्द्रमा राखेर यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयमा, पोखरा महानगरपालिका र प्राविधिकशिक्षा तथा व्यवसायिक तालिम परिषदको साझेदारीमा संचालित “सीप, संस्कार र सफलताको यात्रामा प्रतिबद्ध संस्था”।

